सुशासनको निम्ति नारायणकाजीको अर्को साहसी कदम

सुशासनको निम्ति नारायणकाजीको अर्को साहसी कदम


बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीका भाइ अरुणसहित तीन जना पक्राउ

  • सुरेन्द्र सुवेदी, काठमाडौं

व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विनोद चौधरीका भाइ अरुणलाई बाँसबारी छाला जुत्ता उद्योगको जग्गा अवैध तवरले हडपेर निजी तुल्याएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुर र कार्यकारी निर्देशक अजितनारायण थापा पनि आजै पक्राउ परेका छन् । यो प्रकरणमा हालसम्म तीन जना पक्राउ परेका छन् भने अरुको पनि संलग्ता रहेको र यसमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चौधरीलगायतका उल्लेखित पात्रहरूले कारखानाको स्वामित्वमा रहेको १० रोपनी जमिन नियमविपरीत निजी बनाएको खुलेको छ । कानुनी प्रक्रिया पूरा गरेर नै उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

आफूलाई पक्राउ गर्न प्रहरी आएको सुराग पाएपछि चौधरीले निवासकै शौचालयमा लुकेर प्रहरीलाई छल्ने प्रयास गरेका थिए । तर, ट्वाइलेटको ढोका फोरेर पनि पक्राउ गरेरै छाड्ने चेतावनी दिइएपछि चौधरीले प्रहरी टोलीसमक्ष आत्मसमर्पण गरेको बुझिएको छ ।

विनोद चौधरीले आफूले अवैध रूपले बाँसबारीको जग्गा हड्पिएर कान्छोभाइ अरुणको नाममा राखेका थिए । सोही कारण अरुणले पक्राउ खानुपरेको हो । अनुसन्धानका लागि विनोद चौधरीलाई पनि नियन्त्रणमा लिने तयारी गरिएको स्रोतको भनाइ छ ।

ज्ञातव्य छ, बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको खुलासा यसअघि नै भएको थियो । यो विषयमा छानविन गर्न चौधरीलगायतलाई पक्राउ गरेको श्रोतको भनाइ छ ।

२०२२ सालमा चीन सरकारको सहयोगमा बनेको यो कारखाना घाटामा गएको भन्दै तत्कालिन सरकारले २०५० सालमा निजीकरण गरेको थियो । यसमा तत्कालिन सरकारका हर्ताकर्ताहरूलाई चौधरीले प्रभावित तुल्याएर उक्त जमिन निजी बनाएको बताइन्छ ।

सो जग्गा निजी कम्पनीमा रुपान्तरण गर्दा कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारी पनि संलग्न रहेको श्रोतको दाबी छ । अब कार्यालयका कर्मचारीमाथि पनि अनुसन्धान हुने बताइन्छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उनीहरुमाथि कीर्ते र ठगी मुद्दामा अनुसन्धान सुरु गरेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।

ज्ञातव्य छ, सुशासनका लागि प्रतिबद्धता जनाएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको विशेष तदारुकतामा चौधरीलाई पक्राउ गरिएको हो ।