प्राधिकरणमा ठूलो मात्रामा सामान चोरिए

प्राधिकरणमा ठूलो मात्रामा सामान चोरिए


कूलमानका अनियमितता बाहिरिँदै

विद्युत प्राधिकरणका स्टोरबाट ठूलो परिमाणमा विद्युतीय उपकरणहरू हराएका छन् । कर्मचारीहरूकै मिलेमतोमा ती सामान हराएको श्रोतहरूको भनाइ छ । सामान हराउनुमा कार्यकारी निर्देशक कूलमान घिसिङको समेत हात रहेको प्राधिकरणसम्बद्ध श्रोतले बतायो । स्टोरबाट ठूलो परिमाणमा ट्रान्सफर्मर, इन्सुलेटर, पोल, कन्डक्टर, कन्डक्टर हार्डवयर, पोल एसेसरिजहरू हराएका हुन् ।

सामान हराउँदा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवाल अहिले नैतिक संकटमा परेका छन् । ठूलो परिमाणमा सामान हराएपछि त्यसको छानविन गर्न गठित समितिलाई प्रतिवेदन सच्याउन उनले दबाब दिएको स्रोतको भनाइ छ । प्राधिकरणले जिन्सी सामानको भौतिक परीक्षण समितिको प्रतिवेदनमाथि छानविन समिति बनाइएको छ । तर समितिका केही सदस्यले भने उच्च व्यवस्थापनको दबाबमा प्रतिवेदन सच्याउन अस्वीकार गरेपछि यो प्रकरण जटिल बन्न पुगेको हो । प्रतिवेदन सच्याउनुपर्ने दबाबको विरोधमा विशेषगरी प्राविधिक कर्मचारीहरूको विमति देखिन्छ ।

सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त मनोज सिलवालका काकाका छोरा हुन् । किशोर सिलवालमार्फत दबाब दिएर मनोज सिलवालले प्रतिवेदन सच्याउने प्रयास गरेको भन्दै प्राधिकरणका कर्मचारीहरू रुष्ट बनेका छन् ।

प्राधिकरणमा अहिले कमिसनको लोभमा अनावश्यक सामान खरीद गरिएकाले स्टोरमा सामान राख्ने ठाउँको अभाव भएको छ । हेटौंडासहित केन्द्रीय स्टोरमा राखिएका कतिपय ट्रान्सफर्मरको कपर क्वायल चोरी भएको पुष्टि हुँदा समेत त्यसको छानविन गरी दोषीलाई कारवाही गर्ने काम भएको छैन । सिलवाल र घिसिङका कारण प्राधिकरणले अनावश्यक व्ययभार हुनेगरी अधिक सामान थुपार्ने काम भएको स्रोतहरूको तर्क छ । यसरी सामान खरिद गर्दा ठूलो रकम कमिसन पाउने र त्यसरी पाएको कमिसन समाचार नलेख्ने शर्तमा केही पत्रकार र केही पत्रकारको आवरणमा रहेका गैरपत्रकारले मासिक भत्ता पाउने गरेका छन् ।