बाँसबारी जमिन प्रकरणमा प्रहरीद्वारा आधिकारिक विवरण सार्वजनिक

बाँसबारी जमिन प्रकरणमा प्रहरीद्वारा आधिकारिक विवरण सार्वजनिक


  • सुरेन्द्र सुवेदी, काठमाडौं

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगीमा संलग्नहरुको औपचारिक जानकारी प्रहरीले पत्रकार सम्मेलन गरेर दिएको छ । कांग्रेस सांसद तथा नेपालका धनाड्य विनोद चौधरीका कान्छा भाइ काठमाडौं–२६ का अरुणकुमार चौधरी (६० बर्ष) लाई छोड्न चौतर्फी दवाव झेलिरहेको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर यो ठगी प्रकरणको विस्तृत विवरण बाहिर ल्याएको हो । चौधरी तत्कालीन समयमा च्याम्पियन फुटवयेरका शेयर धनी तथा सञ्चालक थिए ।

प्रहरीले ब्यवसायी विनोदका भाइ अरुणसँगै तत्कालीन छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष काठमाडौं–९ बाँसबारी बस्ने अजितनारायणसिंह थापा (८० वर्ष) र च्याम्पियन फुटवेयर सिजी चांँदवाग रेसिडेन्सी प्रालिका संचालक महोत्तरीको महोत्तरी गाउँपालिका-१ का संजय ठाकुर (४५वर्ष) लाई पनि पक्राउ गरिसकेको छ ।

मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७ कात्तिक २० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कित्ता नम्बर ५० को १८–३–२–० जग्गा तत्कालिन श्री ५ को सरकारको निर्णयबिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कानूनविपरीत सञ्चालक समितिले आफूलाई फाइदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले २०४३ भदौं १० गते कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायणसिंहले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवयेरको नामक कम्पनी खडा गरेर सो कम्पनीको जारी पूँजी ५० लाख रुपैयाँको २५ प्रतिशत शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) को उक्त जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेका थिए ।

च्याम्पियन फुटवयेरको जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालिन सञ्चालक समितिले निर्णय गरेको, सम्झौताबमोजिम १२ लाख ५० हजार रुपैयाँ लगानी गर्नुपर्नेमा २६ लाख २ सय ७८ रुपैयाँ लगानी गरी सरकारलाई हानी नोक्सानी पुऱ्याइ आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को कीर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।