९ हजार ग्राहकको लाइन काटेपछि उठ्यो १२ करोड ५० लाख महसूल

९ हजार ग्राहकको लाइन काटेपछि उठ्यो १२ करोड ५० लाख महसूल


  • सुरेन्द्र सुवेदी, काठमाडौं

विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले विद्युत महसूल नतिर्ने ग्राहको लाइन धमाधम काट्न थालेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ हजार ३ सय ७८ ग्राहकको लाइन काटिएको हो ।

लाइन काटिएका ग्राहकले १७ करोड ७१ लाख रुपैयाँ महसूल बुझाउन बाँकी थियो । लाइन काटेपछि ८ हजार १ सय ६० ग्राहकले महसूल तिरेर पुनः लाइन जोडेका छन् । यसरी काटिएका लाइन जोड्दा १२ करोड ४९ लाख महसूल उठेको कार्यालय प्रमुख राजीव सिंहले बताए ।

कार्यालयले लाइन काटेको ६ महिनाभन्दा बढी समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्न पनि थालेको छ । जसमा ग्राहकका मिटर बक्स नै झिक्न थालिएको प्रमुख सिंहको भनाइ छ ।

कार्यालय प्रमुख सिंहले भने, ‘बिजुली बालेर महसूल ६ महिनादेखि नबुझाउनेहरुका मिटर बक्स झिकेर कानुनअनुसार कालोसूचीमा राख्न प्रकृया अघि बढाएका छौं ।’ यो कार्यालयमातहतका विद्युत काटिएका उपभोक्ता करिब १२ सय परिवारले अझै लाइन जोडेका छैनन् । लाइन काटिएको ६ महिना बढी समय भएकोले उनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगान्जले बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व ६ जिल्लाका नेपालगञ्ज, गुलरिया, घोराही, कोहलपुर, राजापुर, लमही, तुलसीपुर, प्युठान, रुकुमपूर्व र रोल्पा वितरण केन्द्रबाट विद्युत सेवा दिँदै आएको छ ।