एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन


नुवाकोटको ककनी गाउँपालिका-८ निवासी १२० वर्षिया बाटुली लामिछानेको शनिबार निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिएका हुन् ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो । तर सो पक्रिया पूरा नहुँदै उनको निधन भएको छ ।