शनिबार रातिबाट मौसममा पुन: बदली

शनिबार रातिबाट मौसममा पुन: बदली


दुई दिन खुलेको मौसम शनिबार रातिबाटै पुनः बदली हुने भएको छ । आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेकोले रातिबाटै बदली हुनेछ । यसअघि शुक्रबारसम्म बदली रहेको मौसम शनिबार खुलेको थियो । अब गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबारबाट भने मौसम क्रमशः खुल्ने मौसमविद्को भनाइ छ । सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।