श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ


दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीदगेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

अभियुक्त नेपालीको घर रुन्टिगढी गाउँपालिका-९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।

बताइएअनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ पुगेका थिए । उनले प्रहरीमा जागिर खाएको १० वर्ष भइसकेको र, घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।