एउटै कम्पनीको ट्रंक एण्ड डेडिकेटेड लाइनको बक्यौता ४ अर्ब बढी

एउटै कम्पनीको ट्रंक एण्ड डेडिकेटेड लाइनको बक्यौता ४ अर्ब बढी


विद्युत प्राधिकरणले वितरण गरेको केन्द्रको ट्रंक एण्ड डेडिकेटेड लाइनको विद्युत महसूल एउटै कम्पनीको चार अर्ब रुपैयाँबढी बक्यौता रहेको छ ।

प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता छ । यस्तै अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिल्सको ४३ करोड र जगदम्बा इन्टरप्राइजेजले ४७ करोड ९८ लाख रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी छ ।

ट्रंक एण्ड डेडिकेटेड लाइन लिएर उद्योग चलाउनेमध्ये सूर्य नेपालले किस्तामा बाँकी महसूल बुझाइरहेको छ । बारा र पर्सा औद्योगिक क्षेत्रमा रहेको यो कम्पनीले २ वर्षदेखि किस्तामा मासिक १२ लाख ५० हजार रुपैयाँ नियमित बुझाउँदै आएको हो ।

ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गर्दा एक समय ६ करोड रुपैयाँ बक्यौता रहेको सूर्य नेपालले अहिले घटाएर २ करोड ४७ लाख रुपैयाँमा झारेको छ ।

प्राधिकरणले जगदम्बा स्टिल्स, जगदम्बा इन्टरप्राइजेज, अशोक स्टिल, हुलास स्टिल र हामा आइरनको लाइन काटेको छ । बक्यौता नबुझाएपछि लाइन काटेको प्राधिकरण जनाउँछ ।