इन्टरपोलबाट सूचना जारीपछि धमाधम पक्राउ पर्दै फरार अभियुक्तहरू

इन्टरपोलबाट सूचना जारीपछि धमाधम पक्राउ पर्दै फरार अभियुक्तहरू


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको पाँच दिनभित्रै फरार भएका खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका फरार चार जना दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ परिसकेका छन् । देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तीव्रता पाएको छ ।

नेपालमा अपराध गरेर विदेश भाग्दै बसेकाहरू अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, एक जनाविरूद्ध ब्ल्यु नोटिस, एक जनाविरूद्ध ब्ल्याक नोटिस, एक जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, एक ब्ल्याक नोटिस, एक पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक रहेका छन् ।

इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । यहीक्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । तीमध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन् । नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवम् विश्वव्यापी प्रहरी सञ्चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरूसँग समन्वय र सूचना आदानप्रदान गर्दै आएको छ । यही सुविधाकै कारण एनसिबीले विभिन्न नोटिस एवम् डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।’

विदेशमा फरार रहेका प्रतिवादी इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय रहेको जनाउँछ । यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तीव्रता दिएको छ । हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेवियाबाट ३ जना, भारत र कुबेतबाट ३/३ जना, मलेसिया/मकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड/क्यानडा/युएसए/पोर्चुगल तथा बहराइनबाट १/१ जना फरारहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ ।

नोटिस तथा डिफ्युजन जारी भएका चार जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेको प्रवक्ता ढकालले बताए ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्र छन् । नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र हो । हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) भनिन्छ । नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । हाल प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहेका छन् ।