१४औँ महाधिवेशनपछि पहिलोपटक महासमिति बैठकको तयारीमा काङ्ग्रेस

१४औँ महाधिवेशनपछि पहिलोपटक महासमिति बैठकको तयारीमा काङ्ग्रेस


पार्टीको १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसले पहिलो पटक आगामी फागुन ७ गते महासमिति बैठक आयोजना गर्न लागेको छ । महासमिति बैठकको तयारीलाई पार्टीले तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन भन्दा बढी महासमिति सदस्य रहनेछन् । बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ ।

बैठक तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ भने बैठक नीति–अधिवेशनका रूपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी अन्तिम चरणमा रहेको बताइन्छ ।

यसैगरी, बैठक तयारीका लागि विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई चयन गरिएको छ ।

तथापि, महासमिति बैठकका लागि यही माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएकोमा सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौं, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिएका छन् ।