उपनिर्वाचनको तयारीमा आयोग, नाम दर्ता गराउन आग्रह

उपनिर्वाचनको तयारीमा आयोग, नाम दर्ता गराउन आग्रह


संघीय संसद् र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको उपनिर्वाचनमा जुटेको निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्न आग्रह गरेको छ ।

इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवाशचन्द्र नेम्बाङको मृत्युपछि संघीय संसदको एक सदस्य रिक्त छ । यस्तै सुनसरी , उदयपुर, रौतहटमा दुई, दोलखा, काठमाडौंको कीर्तिपुर, नुवाकोट, मकवानपुर, गोरखा, लुम्बिनी, रोल्पा, बर्दिया, दैलेख, कालिकोट, जाजरकोटमा दुई, बझाङ, डोटी, बाजुरा जिल्लाका स्थानीय तहमा एक/एक वडाअध्यक्ष पद रिक्त छ । यी स्थानमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले तयारी थालिसकेको हो ।

गत वर्ष २०७९ वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएका थिए । उक्त निर्वाचनपछि विजेता जनप्रतिनिधिहरूको निधन, विदेश पलायनसमेतका कारण उपनिर्वाचन हुन लागेको हो ।

आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानूनबमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था छ । आयोगले नियमितरूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ । नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको आयोग जनाउँछ ।

आयोगले मतदाता नामावलीमा आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्ने कार्यमा सरिक भइ आफ्नो मताधिकार सुरक्षित गर्न सबैमा आग्रह गरेको छ ।