उधारोमा कोइला आपूर्ति गरेर पुनः सिमेन्ट उत्पादन सुरु

उधारोमा कोइला आपूर्ति गरेर पुनः सिमेन्ट उत्पादन सुरु


तीन महिनाभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सोमबारदेखि पुनः उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा उत्पादन बन्द भएको थियो ।

वैकल्पिक उपाय अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ सय मेट्रिक टन कोइला ल्याइसकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिएका छन् । कोइला ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकिल्पक उपाय अवलम्बन गरी आपसी समझदारीमा थप कोइला उधारोमा ल्याइरहेको उनको भनाइ छ ।

सिमेन्ट उत्पादनका लागि प्रयोग हुने क्लिङ्कर मेसिन पनि पुनः सञ्चालन भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक एक सय मेट्रिक टन कोइला आवश्यक पर्दछ । उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने जिकिर गर्दै उत्पादन निरन्तर हुने दाबी गरे ।

सो उद्योगमा साबिक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको छ । उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगले उत्पादन गरेका दुई लाख २५ हजार बोरा सिमेन्ट बिक्री नहुँदा आर्थिक समस्या भएको जनाइएको छ ।