नेपालको साहित्य र प्राज्ञिक विकाशका निम्ति स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानले मार्क्सवाद, लेनिनवाद र माओवादबारे विचारविमर्श गराएर देशलाई कम्युनिष्टमय बनाउने अभियान चलाएको छ । केही साताअघि बाम बुद्धिजीवीहरूलाई प्रमुख वक्ता बनाएर लेनिनवादसम्बन्धी प्रवचन गराउने प्रतिष्ठानले अहिले मार्क्सवादको सान्दर्भिकताबारे विचार गोष्ठीको आयोजना गरेको छ ।
नेपाली साहित्य आकाशका एक अविष्मरणीय नक्षेत्र बालकृष्ण समको जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले मार्क्सवादबारे विचारगोष्ठी आयोजना गर्नुलाई अत्यन्तै आश्चर्यजनक मानिएको छ । माघ २४ गते बुधबार प्रतिष्ठानद्वारा आयोजित गोष्ठीको निमन्त्रणापत्रमा लेखिएको छ- ‘नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान दर्शनशास्त्र विभागद्वारा आयोजना गरिने मार्क्सवादको सान्दर्भिकता विषयक विचार गोष्ठीमा यहाँको गरिमामय उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौँ ।’
यसरी प्रज्ञा प्रतिष्ठान जस्तो संस्था नै मार्क्सवाद लेनिनवादको प्रचार अभियानमा जुट्नुलाई सर्वत्र राजनीतिकरणको पराकाष्टाको रूपमा लिइएको छ ।

प्रतिक्रिया