उद्योगी व्यवसायीले चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मंगलबार उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञा अनुमतिपत्रको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष कुमार कार्कीले व्यवसायीलाई चीनसँग जोडिएका नाकामा आफ्नो सामान लिन जान नदिँदा सामान आयातमा समस्या भएकाले अस्थायी पासको व्यवस्थाका लागि सहजीकरण गर्न गृहमन्त्रीसमक्ष आग्रह गर्दै भने- ‘रसुवाबाट केरुङ सामान ढुवानी गर्न जाने ट्रक र सामान लोड गर्ने मालधनी वा प्रतिनिधिले केरुङ जाने पास नदिँदा आफ्नो गाडी रसुवादेखि केरुङसम्म २८ किलोमिटर बाटोमा अरु नयाँ चालक खोज्नुपर्ने बाध्यताले सयौँ गाडी बिग्रिएको, ठोक्किएको, त्यसरी ठोक्किएका गाडीको चीनतर्फ बिमा नपाइने, रसुवावासी चालकलाई आवश्यकभन्दा बढी रकम बुझाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’
महासङ्घले सामान लिनका लागि आफ्नो सवारीसाधन असक्षम चालकलाई जिम्मा लगाएर केरुङ पठाउँदा कति सामान लोड भयो थाहा नहुने भएकाले समस्या परेको भन्दै यसलाई सहजीकरण गरिदिन गृहमन्त्रीसमक्ष आग्रह गरेको हो । व्यवसायीले सिन्धुपाल्चोकबाट तातोपानी हुँदै खासा जानका लागि व्यवसायी, सवारी धनी, ट्रकचालक तथा मजदुरलाई सहज ढङ्गले पासको व्यवस्था मिलाउनसमेत गृहमन्त्रीसमक्ष अनुरोध गरेका छन् । महासङ्घले रसुवा नाकामा ड्राइपोर्ट छिटोभन्दा छिटो निर्माण गरी सञ्चालनमा ल्याउनका लागि माग गरेका छन् ।
भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले व्यवसायीले राखेका समस्या समाधानका लागि सरकारले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले व्यवसाय प्रवर्द्धनलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्ने उनको भनाइ थियो ।
विसं २०७४ मा स्थापना भएको महासङ्घमा हाल तीसभन्दा बढी सङ्घका झण्डै एकलाख उद्योगी व्यवसायी आबद्ध छन् ।
प्रतिक्रिया