लहानका रतनले फलाए रङ्गीन काउली

लहानका रतनले फलाए रङ्गीन काउली


सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साह विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती बिस्तार गर्ने सोचमा छु’, कृषक रतनले भनेका छन् ।

यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुऱ्याउनसाथ बिक्री हुने उल्लेख गर्दै रतनले भने, ‘यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ, आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’ एक किलोसम्मका काउली फलाएका उनले दुई सय रुपैयाँ किलोका दरले बिक्रीसमेत गरेका छन् ।

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको रतनले जानकारी दिए ।

photo: rss