काङ्ग्रेसभित्र हिन्दुराष्ट्रनिम्ति दबाब !

काङ्ग्रेसभित्र हिन्दुराष्ट्रनिम्ति दबाब !


नेपाली काङ्ग्रेस भित्र वैदिक सनातन हिन्दुराष्ट्र स्थापनाको लागि महाअभियान सुरु भएको छ । काङ्ग्रेस पार्टीका देशभक्त एवम् राष्ट्रवादी नेता तथा अगुवा कार्यकर्ताहरूको यसैसाता काठमाडौंमा सम्पन्न भेलाले वैदिक सनातन हिन्दुराष्ट्र महाअभियान समिति गठन गरेको छ । महाअभियानको संयोजकमा काङ्ग्रेसका देशभक्त एवम् जुझारु नेताका रूपमा स्थापित माननीय शङ्क भण्डारी चयन हुनुभएको छ । काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भेलामा दीपकप्रकाश बास्कोटा, शङ्कर पाण्डे, चिरञ्जीवी वाग्ले, रामचन्द्र अधिकारी, लोकेश ढकाल, दामोदर गौतम, भरतराज पौडेल र दमननाथ ढुङ्गानालगायतको सहभागिता थियो ।

नेपाली काङ्ग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डामा सहमति जनाउन प्रस्ताव राख्ने तयारी महाअभियानले गर्ने भएको छ । यसअघि काठमाडौंमा सम्पन्न महासमिति बैठकमा पनि यस्तै प्रस्ताव राखिएको थियो र, त्यसबेला पनि यिनै नेताहरू प्रस्ताव पारित गराउन सक्रिय भएका थिए । सभापति शेरबहादुर देउवाले सात सय सैंतीस जना महासमिति सदस्यहरूद्वारा प्रस्तुत प्रस्तावलाई रद्दीको टोकरीमा फालिदिएका थिए । तर, यसपटक भने प्रस्तावप्रति देउवा सकारात्मक हुने अपेक्षा सम्बद्ध पक्षले राखेको छ ।

स्मरणीय छ, काङ्ग्रेसमा तत्कालीन नेता खुमबहादुर खड्काले मूल नेतृत्वमाथि दबाब पैदा गर्न हिन्दुराष्ट्र स्थापना महाअभियान सुरु गराउनुभएको थियो । उहाँको निधनपश्चात् मृतप्रायः भएको उक्त अभियानलाई पुनर्जीवन दिन लोकप्रिय नेता शङ्कर भण्डारी अग्रसर हुनुभएको छ । हिजो खड्काको पक्षमा देखिएका अधिकाङ्श नेता-कार्यकर्ताहरू लाखापाखा लागिसकेका छन् ।