सुन तस्करीमा संलग्नताको अभियोग लागेकी अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

सुन तस्करीमा संलग्नताको अभियोग लागेकी अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी


६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

केही महिना पहिले हङकङबाट काठमाडौं ल्याइ बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।

अधिकारीले भनेका छन्, ‘नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।’

अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धान निष्कर्ष छ । काठमाडौंको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

ज्ञातव्य छ, पूर्व माओवादी कार्यकर्तासमेत रहेकी अमला माओवादी केन्द्रका नेता वर्षमान पुनका निकट पात्रको रुपमा समेत चर्चामा रहेकी पात्र हुन् ।

file photo