मिटरब्याजी/बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मिटरब्याजी/बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न गृहमन्त्रीको निर्देशन


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र, आवश्यक निर्देशनसमेत दिएका छन् ।

महोत्तरीको बर्दिबासमा बिहीबार आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए । त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए ।

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न गृहमन्त्रीको विदेश निर्देशन थियो ।