नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता


नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जाल एक्समामा लेखेका छन् ।

वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका नेतृत्वसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्‍याउने अवसर र उपायबारे कुराकानी गरेको स्मरण गरे ।

साथै, उहाँले परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराइ पुर्‍याउने विषयमा छलफल गरेको स्मरण गर्दै दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे ।

उक्त छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीले औपचारिक सम्झौताका लागि पटक-पटक छलफल गरेको थियो ।