झन् बुझ्यो झन् कठिन

झन् बुझ्यो झन् कठिन


समानताको क्षेत्रमा काम गर्नेहरू जुन विषयमा केन्द्रित भएर काम गरिरहेका छन् त्यो विषयमा बोल्दा या लेख्दा एकमुष्ट सम्बोधन गर्ने गर्छन् । जस्तो : महिला, दलित, मधेसी, जनजाति आदि । यो सम्बोधनलाई गलत भन्न मिल्दैन तर वास्तविकता के पनि हो भने यी सबै कुराहरूबीच पनि विविधताहरू छन् जसका बारेमा झट्ट सम्बोधन गर्न गाह्रो छ । महिलाको सर्न्दर्भ आउँदा प्राय: पुरुषलाई गाली गर्ने चलन छ तर पुरुष भनेर मात्रै पनि भएन कस्तो पुरुष, कहाँको पुरुष, के गर्ने पुरुष, अवसर पाएको या नपाएको पुरुष, शिक्षित या अशिक्षित पुरुष ? पुरुषभित्रै पनि विविधता छन् । प्रचण्ड, माधव नेपाल या सुशील कोइराला पनि पुरुष, गोकुले दर्जी, रसबहादुर राई या मानबहादुर कार्की पनि पुरुष । पुरुष भएर के गर्नु ? गोकुले र रसबहादुर कुनै दिन सुख भन्ने चिज आफ्नो भागमा पनि पर्ला भन्ने सपना देख्दै जिन्दगीभर उकाली-ओह्रालीमा भारी बोक्दाबोक्दै यो संसार छोडेर गए । पश्चिम पहाड घर भएका मानबहादुर अहिले पनि असनमा भारी बोकिरहेकै छन् । कुनै पनि कुरामा सामान्यीकरण गर्नुभन्दा त्यसभित्रका विविधतालाई खोज्नुपर्ने रहेछ । महिला भनेर मात्रै पनि नहुँदोरहेछ, कहाँको महिला, कस्तो परिवेशमा हुर्किएको महिला, शिक्षित या अशिक्षित, अवसर पाएको या नपाएकोजस्ता कुराले पुरुष र महिला दुवैलाई समान रूपमा प्रभाव पार्दछ । तर, यी सबै वास्तविकताका बाबजुद हाम्रा समाजमा महिलालाई हेर्ने दृष्टिकोणका कारण व्यापक भेदभाव भने कायम छ । के पहाडी महिला, के मधेसी, के क्षेत्री, के बाहुन, के दलित, के हिन्दू, के मुस्लिम कति कुराहरू समान छन् । चार वर्षअगाडि सिराहाको लाहानमा पाँच दशक नाघेकी एक मधेसी महिलाले सोही उमेरकी पहाडी महिलालाई देखाउँदै भनेकी थिइन्- मैले खाना नपकाए खान पाउँदिनँ, उनले पनि आफूले नपकाई खान पाउँदिनन्, उनी विवाह गरेदेखि अहिलेसम्म लोग्नेले केही भन्ने हो कि भन्ने डर-त्रासमा बसिन्, म पनि त्यही अवस्थामा रहेँ । घर पुग्न अलि ढिलो भए ममाथि उठ्ने प्रश्न जे हो उनीमाथि उठ्ने प्रश्न पनि त्यही हो, महिलाका लागि खै कहाँ रह्यो मधेसी र पहाडीको फरक ? उनले यसो भनिरहँदा कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । पाठेघर खस्ने समस्याको बारेमा गरिएको प्रस्तुतिका क्रममा मधेसमा आएर पहाडी महिलाको फोटो देखाउने ? भन्दै भर्खरै पत्रकारितामा प्रवेश गरेका एक व्यक्तिले ‘इरिटेटिङ’ तवरले प्रश्न गरेपछि ती महिलाले त्यसरी जवाफ दिएकी थिइन् ।
गत हप्ता रौतहटमा केही मुस्लिम महिलासँग भएको साक्षात्कारपछि के हिन्दू, के मुस्लिम केही कुरालाई छोडेर सबै समस्या उस्तै हुन् जस्तो लाग्यो । जुनसुकै क्षेत्र, वर्ग र समुदायका हुन्, अहिलेका युवा महिलाको समस्या के हो भने उनीहरू कुरा बुझ्ने भएका छन्, शिक्षाका कारण सही या गलत छुट्याउन सक्ने भएका छन् र आफ्नो हैसियतको खोजी गर्न थालेका छन् । हिजो हजुरआमा र आमाहरूले जे कुरालाई भाग्य या संस्कृतिका नाममा चुपचाप सहँदै आएका थिए त्यो कुरालाई जस्ताको तस्तै आत्मसात् गर्न अहिलेका महिलालाई गाह्रो हुँदै आएको छ । जसका कारण उनीहरू थप मानसिक पीडाबाट गुज्रिने गरेका छन् । दाइजोकै उदाहरण लिऔँ, अघिल्लो पुस्ताले चुपचाप स्वीकारेको यो कुसंस्कारलाई निरन्तरता दिन अहिलेको पुस्तालाई कठिन भएको छ र यसलाई पूरै बहिस्कार गर्न सक्ने हैसियतमा उनीहरू छैनन् । मधेसका अन्य समुदायमा झैं मुस्लिम समुदायमा पनि दाइजोको रोग व्यापक छ । एक शिक्षित मुस्लिम युवतीले भनेकी थिइन्, ‘मलाई दाइजो दिएर विवाह गर्ने इच्छा छैन, यही अडानका कारण दुईजना केटाले मलाई अस्वीकार गरिसके । घरपरिवारका सदस्यलाई मेरो यो अडान मन परेको छैन र चलेको जति दाइजो दिन नसक्ने परिवार पनि मेरो होइन । तर, मलाई भने दाइजो लिएर विवाह गर्नेसँग कसरी जिन्दगी बिताउन सकिन्छ र ? पलपलमा यसले मलाई होइन मेरो बाबुको पैसाका लागि विवाह गरेको हो भन्ने लागेपछि कसरी खुसी हुन सकिएला ? उसका हरेक क्रियाकलाप आफूले खरिद गरेझैं लागेपछि पारिवारिक जीवनको महत्त्व के रहला ? जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा म कसरी दाइजो लिनेसँग विवाह गरूँ ?’ पहिलाका महिला यी सब कुराहरू सोच्दैनथे, चलन यस्तै छ भन्ने ठान्थे तर अहिलेका युवा कुरा बुझ्ने भएका छन्, त्यसैले उनीहरूका लागि जिन्दगी झन् बुझ्यो झन् कठिन भएको छ । पढेकी छोरीलाई पढेकै ज्वाइँ खेज्नुपर्ने र धेरै पढेको केटाको मूल्य पनि धेरै नै तोकिने गरेका कारण कति अविभावक आफ्ना छोरीलाई धेरै पढाउन चाहँदैनन् । अचम्म लाग्छ- युवतीहरूमा त्यस्तो चेतना आउँदा शिक्षित युवामा भने दाइजो लिनुहुन्न, आफूले कति गर्दा त केही हुन्न अर्काले दिएको अलिकति सम्पत्तिले के हुन्छ र ? भन्ने चेतना किन नपलाएको ? मैले ‘क्यास’ लिएर विवाह गर्दा जीवन बिताउनुपर्ने पत्नीले के ठान्ली भन्ने सोच किन नआएको ? मुस्लिम समुदायमा बालविवाहको प्रचलन पनि यही दाइजोसँग जोडिएको छ । समयसँगै बिस्तारो-बिस्तारो मुस्लिम महिला शिक्षित बनी आफ्नो खुट्टामा आफैं उभिने प्रयत्नमा छन्, केवल उनीहरूलाई समाज र परिवारको साथ चाहिएको छ । राज्यले अवलम्बन गरेको आरक्षणको नीतिले पनि उनीहरूलाई आकरि्षत गरिरहेको छ ।
परिवार नियोजन वरि्जत मानिने मुस्लिम समुदायका महिला दर्जनौँ छोराछोरी पाउन बाध्य छन् जसका कारण उनीहरूको प्रजनन स्वास्थ्यमा असर परेको छ । शिक्षित महिलालाई अब यो परम्परालाई अपनाउन गाह्रो छ । आफ्ना बच्चाको भविष्य र आफ्नो स्वास्थ्य के गर्दा राम्रा हुन्छ भन्ने कुरा बुझेपछि यस प्रसङ्गमा पनि उनीहरू कठिन मोडमा छन् । नेपाली मुस्लिम महिलाका लागि बुर्का त्यति ठूलो बाधक तत्त्व होइन, अफगानिस्तान, इराक या अन्य मुस्लिम मुलुकमा झैं आँखा मात्रै देख्ने गरीको बर्ुका यहाँ लगाउनुपर्दैन, कपाल या टाउको छोप्नुले व्यक्तित्व विकासमा त्यति ठूलो बाधा अवरोध ल्याउँदैन । तर, छोरा र छोरीबीचको भेदभाव यो समुदायमा धेरै छ । शिक्षामा पनि प्राय: केटाहरू सरकारी या अङ्ग्रेजी स्कुलमा पढ्ने र केटीहरूचाहिँ मदरसामा पढ्ने हुँदा धेरै कुरामा खाडल निकै छ । यो खाडल पुर्नका लागि कि त मदरसाहरूलाई अन्य शैक्षिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सुविधासम्पन्न बनाउन सक्नुपर्‍यो या त केटीहरूलाई पनि केटाहरूलाई झैं सरकारी या निजी स्कुलमा पढ्न पठाउनुपर्‍यो । बालविवाह, बहुविवाह, तलाक ?सम्बन्धविच्छेद) घरेलु हिंसाजस्ता कुराहरूलाई युवा पुस्ताले हेर्ने दृष्टिकोण फरक छ । विधवा विवाह, सम्बन्धविच्छेद भएका महिलालाई हेर्ने सकारात्मक दृष्टिकोणलगायतका राम्रा कुरा पनि अन्य समुदायको तुलनामा मुस्लिम समुदायमा धेरै छन् । समानताका लागि विविधताबीचको एकता अहिलेको आवश्यकता हो ।