नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हुँदैछ ।
पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको बताइएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको मुख्यसचिव पौडेलको भनाइ छ ।
महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।
प्रतिक्रिया