- मुक्तिनाथ भुसाल, अर्घाखाँची
मरिहत्ते गरेर लाभको पदमा पुग्ने र पदप्राप्तिपछि जनता र सहयात्रीहरूलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थका लागि संगठन र राज्यसंयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति नेपाली काङ्ग्रेसमा नौलो ठानिँदैन । केही नेता-कार्यकर्ता अपवादमा पर्न सक्छन्, अन्यथा सिङ्गै दलको हावा स्वार्थसिद्धिकै लागि बहिरहेको आभास हुन्छ । राजनीति राज्य सञ्चालनको प्रमुख नीति हो र, सबै नीतिलाई निर्देशित गर्ने सबैभन्दा महत्वपूर्ण नीति राजनीति नै हो । राजनीतिमा धेरैले दिन, महिना र वर्ष गनेर नेताको संज्ञा दिँदै हिँडेपनि नेतृत्व गर्ने क्षमतामा असफल हुनासाथ उनीहरू आलोचनाका पात्र बन्छन् । नेतृत्वमा रहने नेताले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बोध गरेर व्यवहारमा उतारेमात्रै पार्टी र मुलुकको विकासले फड्को मार्छ । असल नेताले आफूजस्तै आफ्ना सहयात्रीहरूको क्षमतामा पनि विश्वास गर्दछन् । संक्षेपमा भन्नुपर्दा नेतृत्वमा हुनुपर्ने सबैभन्दा ठुलो क्षमता भनेको नागरिक र नागरिकको भावनालाई बुझेर उनीहरूबाट आएका असल विचारहरूलाई संश्लेषण गरी सबैको साझा विचार निर्माण गर्ने र तदनुरुप सबैलाई डोऱ्याउनु हो । नेतृत्व र नेता भन्नाले आमरूपमा राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई बुझनुपर्ने हुन्छ ।
भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठुलो अर्घाखाँचीको शितगंगा नगरपालिकामा यतिबेला नेपाली काङ्ग्रेसका छविलाल पौडेलले नगरप्रमुखको नेतृत्व गरिरहेका छन् । उनी नगरप्रमुख भएयता विशेषगरी आफ्नै वडामा आलोचनाका पात्र बनेका छन् । उनको जन्मगाउँ जुकेना अर्थात् वडा नम्वर ५ राजनैतिक हिसाबले नेपाली काङ्ग्रेसको सबैभन्दा बलियो संगठन मानिएपनि यतिबेला त्यहाँ रहेका अधिकांश नेता तथा कार्यकर्ताहरू उनको व्यवहारलाई लिएर असन्तुष्ट बनेका छन् ।
गत स्थानीय निर्वाचनमा गठबन्धनबाट झिनो मतले विजयी बनेका थिए पौडेल । नगरप्रमुख बनेपछि उनले आफ्नो वडालाई फर्केर नहेरेको र, बाटाघाटा हिँड्दा नमस्ते फर्काउनसमेत अप्ठ्यारो मान्ने गरेको काङ्ग्रेसकै कार्यकर्ताहरूको गुनासो सुनिन्छ । उनको वडामा खानेपानी, सिंचाई, सडक र वडा कार्यालय भवनको जटिल समस्या रहेको छ । खानेपानीको सन्दर्भमा मुछलेघाट, थापाखर्क लगायतका खानेपानी योजनाहरू वर्षौंदेखि अलपत्र भईदिँदा स्थानीयहरू काकाकुल बनेका छन् । केही वर्षअघि खानेपानीका टयाङ्की कतिपय स्थानमा निर्माण सम्पन्न भएका भएपनि हालसम्म स्थानीयको घरमा पानी पुग्न सकेको छैन । खोलामा पानी प्रशस्तै भएपनि सिंचाईका लागि पाइप व्यवस्थापन गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो रहेका छन् ।
शितगंगा नगरपालिकामा रहेका चौधवटा वडामध्ये बाह्र वटामा वडा कार्यालयको भवन निर्माण भइसक्दा उनको वडामा वडाभवन निर्माण हुन सकेको छैन । शितगंगा नपा-५ का जनप्रतिनिधिहरू पुरानो तथा साँघुरो भवनबाट हालसम्म सेवा दिन बाध्य छन् । नगरप्रमुखको वडामा वडाभवन बन्न ढिलाइ हुनुको मुख्य बाधक स्वयं नगरप्रमुख पौडेल नै रहेको एउटा रोचक प्रसंग आफैमा महत्वपूर्ण रहेको छ । नगरप्रमुख हुनुपूर्व वडासदस्य रहेका पौडेलले तत्कालीन समयमा आफैले नेतृत्व गरी शान्त बसेका स्थानीयहरूलाई जिस्क्याउने कार्यको श्रीगणेश गरेका थिए । सो समय जुकेनामा रहेको वडा कार्यालय गल्दामा लग्नुपर्छ भन्ने मागसहित नगरपालिकामा कसरत गरेका पौडेललाई अहिले काँचो पिँडालु निल्नु न ओकल्नु बनेको छ । जुकेनामा वडा कार्यालय भवन बनाए गल्दावासीले विरोध गर्ने र जुकेनाबाट वडा कार्यालय भवन हटाए जुकेनावासी आन्दोलित हुने त्रास नगरप्रमुख पौडेलका अलावा जिल्लाका काङ्ग्रेसी नेताहरूले बुझेकै विषय हो ।
नगरप्रमुख पौडेल नेपाली काङ्ग्रेसभित्र इतिहास बोकेका र पार्टीका लागि सर्वश्व गुमाएका नेता हुन्, तर आफू वडासदस्य रहेको समयमा मिलेर बसेका स्थानीयहरूलाई उक्साउने गल्ती नगरेको भए यतिबेला वडाकार्यालयको भवन बनिसक्थ्यो । आफूले विगतमा गरेको गल्तीलाई स्वीकार गर्दै नगरप्रमुख पौडेलले गल्दा र जुकेनावासीहरूलाई मिलाएर वडा कार्यालय भवन निर्माण नगर्दासम्म यो आलोचना उनले खेपिरहनुपर्ने छ ।
जुकेनामा सुक्ष्म अध्ययन गर्दा नगरप्रमुख पौडेल र त्यहाँ रहेको पार्टी वडा कार्यसमिति तथा अधिकांश नेता-कार्यकताहरूसँग अपेक्षाकृत तालमेल नभएको बुझिएको छ । काङ्ग्रेसका युवा नेता रामप्रसाद भुसालले नगरप्रमुखको असहयोगका बाबजुद वडा सभापतिमा निर्वाचित भएपछि शहरी विकास मन्त्रलायबाट बीपी स्मृति भवन निर्माणका लागि १० लाख बजेट भित्र्याएका रहेछन् । उक्त कुराको सुइँको पाउनासाथ नेता पौडेलले तत्कालिन समयमा सो बजेटलाई आफ्नो गाउँबाट अन्यत्र सार्न जोडबल प्रयोग गरेका र कालान्तरमा उनी असफल बनेको आरोप उनमाथि लाग्नु आफैमा शर्मनाक मान्नुपर्ने देखिन्छ । आफूलाई नगरप्रमुखमा विजयी तुल्याए व्यक्तिगतरूपमा सो भवनका लागि २ लाख प्रदान गर्ने बाचा गरेका पौडेलले हालसम्म कवोलअनुसार रकम नदिएको काङ्ग्रेसजनको गुनासो रहेको छ । शहरी विकासको अलवा नगरपालिकाबाट मुस्किलले ५ लाख प्राप्त गरेको उक्त भवन हाल अलपत्र अवस्थामा रहनुका साथै विकास निर्माणका कार्यहरूको सार्वजनिक सुनुवाइमा समेत स्थानीयहरूलाई बेवास्ता गरिएको बुझिएको छ । नगरप्रमुखको कार्यशैलीबाट आजित बनेका केही स्थानीयहरू पार्टीमा निस्कृय बन्ने र कतिपयले पार्टी नै छाड्ने गरेका भएपनि उनले खाँसै चासो दिएका छैनन् । जुकेनाको चौपारीमा बसेर आपसी भलाकुसारी गर्ने नेपाली काङ्ग्रेसका अनुभवी जेष्ठनागरिकहरूको कुरा सुन्दा ‘छवेले नगरप्रमुख पदबाट कार्यकाल पूरा गर्दा शितगंगाको काङ्ग्रेस पनि सकाएर हिँड्ने भयो’ भन्ने शब्द पङ्क्तिकारको कानमा गुन्जिएको थियो ।
जुकेनावासीहरूका लागि सडक समस्या पनि प्रमुख चुनौती बनेको छ । धेरै वर्षअगाडि राज्यले मोटो रकम खर्च गरेको चाक्ला-गल्दा सडकमा सवारी साधन सञ्चालनमा नआउँदा गल्दावासीहरू यातायात सुविधाविहीन बनेका छन् । लामो रुटको सम्भावना बोकेको चाक्ला-गल्दा सडकमा लामाताल, ऐरावती वा धनचौर-सन्धिखर्कसम्मको योजनासहित इच्छाशक्ति दर्शाएमा सवारीसाधन चल्न सक्ने जानकारहरूले बताउँदै आएका छन् । आफ्नो व्यवहार तथा कार्यशैलीमा सुधार गर्दै उल्लिखित प्रतिनिधिमुलक समस्याहरू समाधान गर्न ढिलाइ गरेमा नगरप्रमुख छविलालले आफ्नो अलावा काङ्ग्रेस पार्टीकै छवि पनि सङ्कटमा पार्ने प्रवल सम्भावना देखिन्छ ।
प्रतिक्रिया