राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड

राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड


राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ८५ औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताले साना नानीदेखि ज्येष्ठ नागरिकसम्मले अवलोकन गर्ने जीवन्त संस्कृति र सम्पदालाई एकीकृत गरिएको सङ्ग्रहालयलाई प्रचारप्रसार गरी पर्यटकको आकर्षण केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उनीहरूले जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला, संस्कृति, इतिहास संरक्षण गर्ने सङ्ग्रहालयलाई अध्ययन–अनुसन्धानका साथै पर्यटन केन्द्रका रुपमा विकास गर्न जरुरी भएको बताए । प्राकृतिक सम्पदामात्रै देखाउने होइन देशको भव्य संस्कृति र सङ्ग्रहालयमा सजिएका कलाकृति पनि पर्यटक आकर्षित गर्ने प्रमुख आधार हुन् भनेर तिनको प्रवर्द्धनमा लागिपरेको उनले दाबी गरे ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले देशको कला संस्कृति, अवलोकन गर्ने सङ्ग्रहालयको सम्वर्द्धनका लागि सबै सरोकारवाला निकाय जिम्मेवारपूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले हराएका, मासिएका र मासिने सम्भावना भएका सम्पदाको संरक्षण र प्रवर्द्धनमा सङ्ग्रहालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

देशबाट चोरी निकासी भएका विभिन्न देशबाट हालसम्म एक सय १० पुरातात्विक महत्वका मूर्ति फिर्ता ल्याइएको सङ्ग्रहालयले जनाएको छ ।

प्राध्यापक डा. प्रेमकुमार खत्रीले देशको संस्कृति, कला, सभ्यता र ज्ञानको भण्डारको रुपमा रहेको सङ्ग्रहालयको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने औंल्याए ।

छाउनीमा ४५ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय सङ्ग्रहालयमा राष्ट्रियस्तरको एकमात्र बहुउद्देश्यीय सङ्ग्रहालयको रुपमा रहेको छ । यो सङ्ग्रहालय पर्यटन मन्त्रालय, पुरातत्व विभागअन्तर्गत सञ्चालित छ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाद्वारा युरोपेली वास्तुशैलीमा भवनको निर्माण गराई विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार शस्त्रागारको स्थापना गराउनुभएको थियो । हातहतियार सङ्कलन गरिएकाले सुरुमा यसलाई छाउनी शिलखाना भनियोभने पछि राणाप्रधानमन्त्री चन्द्र शम्शेरको युरोप यात्रापछि उक्त शिलखानालाई निजी ग्यालरीका रुपमा राणा परिवार तथा विदेशी पाहुनाको लागि मात्र खुला गरिएको थियो ।

सङ्ग्रहालय अधिकृत शर्मिला उप्रेतीका अनुसार राणा प्रधानमन्त्री जुद्धशमशेरले सङ्ग्रहालयकै लागि विसं २००० मा भवन बनाउन लगाई जुद्धजातीय कलाशाला सर्वसाधारणको लागि खुला गरिएको थियो । विसं २०२४ मा नेपाल म्युजियमलाई राष्ट्रिय सङ्ग्रहालय नामकरण गरियो । विसं २०३१ मा निर्मित भवनमा २०५४ सालदेखि बौद्ध ग्यालरी सञ्चालनमा ल्याइएको थियो । जुद्धजातीय कलाशाला दोस्रो शताब्दीदेखि २०औँ शताब्दीसम्मका नेपाली कला सम्पदा (कलाकृति)को प्रदर्शनी रहेको छ ।

६३ हजार जिज्ञासु सङ्ग्रहालयको अवलोकनमा

आर्थिक वर्ष २०७९/०८० मा ६३ हजार बढीले राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालयको विवरणमा आव २०७८/०८९ मा २६ हजारले भ्रमण गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग कीर्तिपुर र लुम्बिनी बौद्ध विश्वविद्यालयका सङ्ग्रहालय विज्ञानका विद्यार्थीलाई सङ्ग्रहालयले प्रशिक्षण गराउँदै आएको छ ।

राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले सङ्ग्रहालय व्यवस्थापनलाई प्रभावकारी बनाई पुरातात्विक सम्पदाको खोज र संरक्षणलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तस्बिर : रासस