बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट-१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट-३ का जिपचालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह-चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुऱ्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।
ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा महिलाको मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।
छाब्दी देउराली भित्री सडकखण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी-१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार ट्र्याक्टरचालक र मोटरसाइकलचालकलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया