काठमाडौंको खुल्लामञ्चलाई काठमाडौं महानगरपालिकाले फुटबल मैदान तुल्याउन लागेको भनी प्रकाशित/प्रसारित समाचारप्रति मेयर बालेन्द्र साहले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले खुलामञ्च संधै सबैका लागि खुल्ला रहने र, खुलामञ्चमात्र नभइ टुँडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा आफू लागिपरेको बताएका छन् ।
उनले भनेका छन्- ‘खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन, व्यापार गर्ने होइन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।’

यस्तो छ सामाजिक सञ्जालमार्फत अभिव्यक्त मेयर साहको भनाइ :
विगत केहि महिनादेखि काठमाडौं महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।
हाम्रो संधैको चाहना छ कि खुलामञ्च हरदम खुल्लै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।
खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ-
– बिहानै हात फैलाएर मर्निङवाक गर्न सकियोस्,
– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,
– बच्चाहरू खेल्न पाउन्,
– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,
– प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु त्यही खुलामञ्चमा राख्न पाइओस् ।
यही योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ ।
तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्यज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।
यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुँडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिल्यै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिल्यै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगिताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनुपर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।
खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन, व्यापार गर्ने होइन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।
यी विषयहरुमा मिडिया र अभियन्ताहरू जति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू संधै सही हुन्छन् भन्ने ‘बर्बरिक सिन्ड्रोम’बाट मुक्त भइ लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।
हामी खुल्ला खुल्लामञ्च मात्र हैन फराकिलो काठमाडौं बनाउने बाटोमा छौँ ।
प्रतिक्रिया