‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमा राख्ने सहमति

‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमा राख्ने सहमति


गत असारमा गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा शनिबार भएको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।

पुरातात्विक, ऐतिहासिक महत्व रहेको भनिएको बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ बिक्री गर्न लागेको आशङ्कामा गोरखा प्रहरीले नियन्त्रणमा लिएको थियो । लामो समयदेखि प्रहरी कार्यालयमा रहेको उक्त ‘क्वार्ज क्रिष्टल’ जिल्लाभित्रै व्यवस्थापन गर्नुपर्ने जिल्लावासीले पनि माग गर्दै आएका थिए ।

मन्त्रालयले पत्राचार गरी जिल्लामै व्यवस्थापन गर्नु भनेका कारण सर्वपक्षीय बैठकले निर्णय गरेर दरबारमा राख्ने निर्णय गरिएको जानकारी दिँदै प्रजिअ दाहालले यो सम्पत्ति गोर्खालीको भएकाले सर्वसम्मतरूपमा गोरखा दरबारमा राख्ने सहमति भएको बताए । दरबारमा राखिने ‘क्वार्ज क्रिष्टल’ को सुरक्षाको जिम्मेवारी भने जिल्ला सुरक्षा समितिले निर्धारण गर्ने उनको भनाइ छ ।

‘क्वार्ज क्रिष्टल’को राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा चलेकाले सुरक्षामा विशेष ध्यान दिइनुपर्नेमा सरोकारवालाहरू सहमत छन् ।

‘यसको सुरक्षाको विषयमा हामी गम्भीर छौँ, सुरक्षाका सबै विधि अपनाएर भए पनि अब तत्काल दरबार परिसरमा राख्छौँ, यसबाट गोरखाको धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ’, प्रजिअ दाहालले भनेका छन् ।

गोरखा दरबार र गोरखाकाली मन्दिर बीचको खाली भागमा सबैले हेर्न मिल्ने गरी उक्त क्वार्ज क्रिष्टल राखिने छ । दरबारमा क्वार्ज क्रिष्टल व्यवस्थापनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन भने गोरखा नगरपालिकाले गर्नेछ ।

बैठकमा गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले धार्मिक पर्यटनका हिसाबले समेत क्वार्ज क्रिष्टललाई गोरखा दरबार परिसरमा नै राख्नु उपयुक्त हुने भएकाले सर्वसम्मतरूपमा दरबारमा राख्ने निर्णय गरिएको जानकारी दिए ।

भूगर्भविद्को टोली गोरखा पुगेर दुई दिन लगाइ गरेको परीक्षणबाट उक्त ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पत्ता लागेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम छ । गत असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।