‘जनता जनार्दनले जे भन्छन् त्यो सुनौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र

‘जनता जनार्दनले जे भन्छन् त्यो सुनौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने धारणा राख्नुभएको छ ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व-व्यवस्था भएको उल्लेख गर्नुभएको छ ।

आफ्नो सन्देशमा पूर्व श्री ५ ले भन्नुभएको छ- ‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म-कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो ।’

यस्तो छ राजा ज्ञानेन्द्रको सन्देशको पूर्णपाठ-

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौँ । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रातःस्मरणीय पूज्य जिज्यूबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा वीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।

प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो । प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबैभन्दा समान, सबै भन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति हो । प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्नो भू-बनोट, आफ्नो भू-भागभित्रका विविध समाज सबैलाईं संलग्न पार्नु पर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ । आ-आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ-आफ्नो सामाजिक संरचना मुताविक आ-आफ्नो शैली, पद्धति र परिपाटीअनुरुप राज्य पद्धति कायम रहनै पर्दछ ।

प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।

प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म-कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्- त्यो सुनौँ, त्यसलाई गुनौँ र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि-व्यवहार झल्काउनु पर्दछ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौँ । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैब नेपालीजनसँग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौँ ।

श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् ।
जय नेपाल ।
२०८० साल फागुन ७ गते