प्रधानमन्त्री प्रचण्डले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन् । चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गर्दै प्रधानमन्त्रीले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए ।
शान्ति स्थापनाकार्य जटिल राजनीतिक/सैन्य/मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
‘संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनःमूल्याङ्कन गर्नुपर्ने भएको छ’, प्रधानमन्त्रीले भने । शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना र प्रतिबद्धतालाई जोगाउन हस्तक्षेपको तत्परता आवश्यक पर्ने उनले बताए । खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेका त्यस्ता प्रयासको गहिरो प्रभाव परेको उल्लेख गरे ।
‘यस अवसरमा म विश्वभर शान्तिको खोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु, उहाँहरुको निःस्वार्थ कार्य र समर्पणभाव हामी सबैका लागि प्रेरणको स्रोत हो’, प्रधानमन्त्रीको भनाइ छ ।
कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्तिसैनिकहरूको प्रशंसा उनले गरे । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावको चाहनामा निहित छ ।’
नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरे । विश्वमा शान्ति स्थापना नेपालको विदेशनीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै उनले यस कार्यको विश्वले प्रशंसा गरेको पनि स्मरण गरे । नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको प्रधानमन्त्रीको भनाइ थियो ।
तस्बिर : रासस
प्रतिक्रिया