पृथक कार्यक्रम फरक सन्देश : मुख्यमन्त्रीको सम्मानले भक्कानिए स्वयंसेविकाहरू !

पृथक कार्यक्रम फरक सन्देश : मुख्यमन्त्रीको सम्मानले भक्कानिए स्वयंसेविकाहरू !


हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि साज-सजावट छुट्टै हुन्छ । तर, प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो । स्टेजमा स्वयंसेविका र दर्शक दीर्घामा अतिथि देख्दा कार्यक्रम हलमा पस्ने जो-कोहीले फरक अनुभूति गरिरहेका थिए । महिला स्वयंसेविकाहरू सम्मानित हुँदाका बखत भक्कानिइरहेका थिए ।

‘स्वास्थ्य महिला स्वयंसेविका’ जसले गर्भधाणदेखि शिशुको हेरचाहसम्म ‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका हुन्छन् । शिशुलाई आवश्यक भिटामिनदेखि आमाको स्वास्थ्य अवस्थासम्मको ख्याल गरिरहेका हुन्छन् । तर उनीहरू राज्यले समेत बेवास्ता गरिरहेको अवस्थामा कोशी प्रदेश सरकारले गरेको सम्मानले उत्साहित बनाएको बताउँछन् ।

मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री नियुक्त भएदेखि नै अग्रमोर्चामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान गर्ने बताउँदै गर्दा प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमै स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ताका साथ सम्मानको व्यवस्था गरेर योजना कार्यान्वयनमा ल्याए ।

प्रजातन्त्र दिवस विगतका वर्षहरूमा औपचारिक कार्यक्रमहरूमा सीमित रहँदै गर्दा समाजमा रहेका दीर्घकालीन महत्वका विषयहरूले प्रवेश पाइरहेको हुँदैनथ्यो । जसका लागि प्रजातन्त्र ल्याइएको हो उनीहरू प्रजातन्त्रको अनुभूति गर्न पाइरहेका हुँदैनथे । त्यसको क्रमभङ्ग गरेर समाजका अतुलनीय योगदान गर्नेहरूलाई सम्मान गरी प्रजातन्त्र जनताका लागि ल्याएको अनुभूति कोशी प्रदेश सरकारले गराएको छ ।

मुख्यमन्त्री कार्की भन्छन्, ‘भौतिक विकासको दिगोपनाका लागि प्रदेश सरकार मानवीय विकासमा केन्द्रित छ । हामीले दिनरात नभनी गाउँ-गाउँमा गएर आमा र शिशुको निगरानी राख्ने, भिटामिन खुवाउने ‘धाइआमा’हरूलाई सम्मान र प्रोत्साहन गरेर उहाँहरूलाई शिरमा राखेका छौँ ।’

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य महिला स्वयंसेविहरुलाई नगद पाँच हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । त्यसमा उत्कृष्ट भएका प्रदेशका प्रत्येक जिल्लाका एक एक स्वयंसेवीहरुलाई नगद १५ हजारसहित चाँदीको सिक्का, साडी, टर्च लाइट, सम्मान पत्र लगायतका सामग्री उपलब्ध गराइएको छ । सम्मानपछि ताप्लेजुङबाट सम्मानित भएकी पम्फामाया राई भावुक बन्दै भन्छिन्- ‘आमाको कोखबाट जन्मिएको भन्दा खुसी छु । यस्तो मैले कल्पना पनि गरेकी थिइनँ जुन काम प्रदेश सरकारले हाम्रा लागि गरिदिएको छ ।’

उत्कृष्ट स्वयंसेवी सम्मानित हुनेहरुमा पम्फामाया राई ताप्लेजुङ, दिलमाया मगर उदयपुर, निरकुमारी राना ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्दा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर, गोमा भट्टराई तेह्रथुम, सिता तामाङ भोजपुर, इश्वरा निरौला इलाम, सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा धनकुटा जिल्लाबाट रहेका छन् । उहाँहरूको सम्मानले प्रदेशभरका स्वयंसेवीलाई सकारात्मक ऊर्जा प्रवाह गरेको स्वास्थ्य स्वयंसेविका सङ्घले बताएको छ । प्रदेशमा आठ हजार सात सय ९१ जना महिला स्वयंसेविका रहेका छन् ।

महिला स्वयंसेविकाले मासिक ८ सय रुपैयाँसम्ममा काम गरिरहेका हुन्छन् । स्वयंसेविकाहरुको न्यूनतम पारिश्रमिक पाउनुपर्ने संघकी कोशी इन्चार्ज रत्ना रिजाल बताउँछिन् । उनले भनिन् ‘कोशी प्रदेशका मुख्यमन्त्रीज्यूले जुन हिसाबमा स्वयंसेविकाका समस्या बुझ्नुभएको छ हामी उहाँप्रति आभारी छौँ, मुख्यमन्त्रीज्यूसंग पनि भेट भयो, हामी समस्या सुनाउन गएका थियौँ । हाम्रा समस्याहरू स्थायी समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’