जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ ।
जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज (९ फागुन) बिहान ६ देखि ११ बजेसम्म खुला गरेको थियो । सर्वसाधारणको सहजताका लागि बिहान ६ देखि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आँकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् ।
मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । परिस्थिति र आवश्यकताका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने उनले जानकारी दिए । वीरगञ्जको अहिलेसम्मको अवस्था सामान्य छ ।
रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुईपक्षबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमबार वीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साँझदेखि अनिश्चितकालीन निषेधज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया