नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्ज पुग्नुभएको छ ।
बुधबार साँझ बुद्ध एयरबाट नेपालगञ्ज पुग्नुभएका गृहमन्त्री श्रेष्ठलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखबाट नेपालगञ्ज विमानस्थलमा स्वागत गरिएको थियो ।
बिहीबार सुरु हुने प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका गृहसचिव, उच्चपदस्थ कर्मचारीहरु, प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, प्रमुख सचिव राधा अर्याल, गृहमन्त्री सन्तोष पाण्डे, गृहसचिव लालबाबु कवारीलगायतको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार गृहमन्त्री श्रेष्ठले भोलिदेखि सुरु हुने ‘ट्राफिक सप्ताह-२०८०’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरण’सम्बन्धी सप्ताह हुने जनाइएको छ ।
photo: rss
प्रतिक्रिया