पाँचखालमा १८५ केभिए क्षमताको सोलार प्रोजेक्ट उद्घाटन

पाँचखालमा १८५ केभिए क्षमताको सोलार प्रोजेक्ट उद्घाटन


नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा जडित १८५ केभिए क्षमताको सोलार प्रोजेक्ट उद्घाटन भएको छ । यो प्रोजेक्टको संयुक्त राज्य अमेरिकी उप-सहायक सचिव रहेल शिलरले समुद्घाटन गरे ।

त्यस अवसरमा उप-सहायक सचिव शिलरले यो परियोजना शान्ति स्थापनासम्बन्धी क्षमता अभिवृध्दि गर्ने क्षेत्रमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र ग्लोबल पिस अपरेसन इनिसियटिभबीचको सहकार्यको राम्रो उदाहरणका रूपमा रहिरहने विश्वास व्यक्त गर्दै नेपाली सेनामार्फत संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुने विभिन्न मुलुकका सैनिकहरूलाई सहयोग गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

युद्धकार्य विभागका विभागिय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले यो सोलार प्रोजेक्ट निर्माणका लागि ‘जिपीओएल’बाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन् । तालिम केन्द्रमा रहेका सम्पूर्ण संरचनालाई आवश्यक विद्युतीय ऊर्जामार्फत प्रवाह हुनेछ । वैकल्पिक ऊर्जा स्रोतको रूपमा जडान भएको यो प्रोजेक्ट तालिम केन्द्रको भौतिक स्तरोन्नतिमा महत्त्वपूर्ण हुनुको साथै केन्द्रलाई शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘उत्कृष्टता केन्द्र’का रूपमा विकसित गर्दै लैजान सहयोगी हुनेछ ।

उप-सहायक सचिव शिलर यही फागुन ८ गतेदेखि जिपीओआईको सहयोगमा नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको सिलसिलामा नेपालमा रहेका छन् ।