रुस-युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

रुस-युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि


रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिएका छन् ।

गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए । ‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ, थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ’, उनले भनेका छन् ।

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरको भनाइ छ । ताराखोला-२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताए ।

‘रुसी सेनामा भर्ना भएको तस्बिर उनले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ, उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ’, वडाध्यक्ष घर्तीले भनेका छन् ।

विक यसअघि गाउँमै गाडीचालक रहेको उनका साढुभाइ सनबहादुरले जानकारी दिए । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

symbolic image