नेपाल प्रहरीको ‘डिजिटल फोरेन्सिक ल्याब’ प्रभावकारी माध्यम सावित

नेपाल प्रहरीको ‘डिजिटल फोरेन्सिक ल्याब’ प्रभावकारी माध्यम सावित


ल्याबद्वारा ४ हजार ५ सय ५३ मुद्दा, २१ हजार ४ सय १५ वटा सवुद परीक्षण

  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याब प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पुऱ्याउन प्रभावकारी माध्यम सावित भएको दाबी गरिएको छ । डिजिटल फोरेन्सिक कम्प्युटर विज्ञानको एउटा शाखा हो । ल्यावले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रकृयामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषण पश्चात आएको नतिजालाई रिपोर्टिङ गर्ने काम गर्दछ ।

स्थापनादेखि हालसम्म ल्यावले जम्मा ४ हजार ५ सय ५३ वटा मुद्दाका जम्मा २१ हजार ४ सय १५ वटा सवुद परीक्षण सम्पन्न गरेको छ । सो अवधिमा ५ हजार १ सय १३ वटा मुद्दाका २४ हजार ४ सय २५ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५ सय ६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा मात्रै ४ सय ४० वटा मुद्दाका २ हजार १ सय ६२ वटा सवुद परीक्षण सम्पन्न भएको प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले बताए । प्रवक्ता ढकालका अनुसार यो अवधिमा ७ सय ५८ वटा मुद्दाका ३ हजार ९ सय १३ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५ सय ६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् ।

प्रहरीले ल्याव परीक्षण कार्यलाई प्रभावकारी बनाउन डिजिटल इभिडेन्सेस तथा डिजिटल फोरेन्सिक विषयमा तालिम प्रदान गर्छ । प्रवक्ता डिआइजी ढकाल भन्छन, ‘प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्यावको रहन्छ, आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ, त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।’

उनले घटनामा भेटिएका प्रमाण वा वस्तुको परीक्षण र विश्लेषण गरी अपराधी पत्ता लगाउन सहज भएको बताए । परीक्षणले साइबर अपराधको अनुसन्धानमा समेत सहयोग पु¥याएको छ । दक्ष जनशक्ति र साधनस्रोतको प्रयोगबाट प्राप्त हुने सवुदले अदालतलाई मुद्धाको अन्तिम किनारा लगाउन सहजता ल्याउने अपेक्षा गरिएको प्रहरी जनाउँछ ।

नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन् र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याव स्थापना भई क्रियाशील रहेको छ । ल्यावका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार मण्डल भन्छन्, ‘हाल ल्यावबाट कम्प्युटर, मोबाइल, सोसियल मिडिया, मल्टिमिडिया, मालवयेर, मेमोरी, ड्रोन, जिपिएस र आईओटी डिभाइसलगायतका फोरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।’

अबको अपराध अनुसन्धान परम्परागत भन्दा फरक हुनुपर्ने र अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक रहेको प्रहरी अधिकारीहरु बताउँछन् । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजश्व अनुसन्धान विभाग, सम्पत्ती सुद्धिकरण विभाग, वन कार्यालयसमेत फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् । विश्वव्यापीकरण र विज्ञान प्रविधिको विकासले अपराधमा आएको नयाँ प्रवृत्तिसँग जुध्न सक्ने गरी सेवा विस्तार गर्दै लाने र ल्याव सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्य प्रहरीको रहेको बताइन्छ ।

यो ल्याब २०७२ मंसिर २० गते स्थापना भएको हो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेर ल्याबले काम गर्दै आएको छ । नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको नवीन आवश्यकता अनुरूपको प्रमाणमुखी वैज्ञानिक अनुसन्धान कार्यलाई स्थापित गराउने ल्यावको उद्देश्य रहेको प्रहरीको भनाइ छ ।