काठमाडौंको वर्षाले विदेशी विमान ‘डाइभर्ट’

काठमाडौंको वर्षाले विदेशी विमान ‘डाइभर्ट’


काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भएको हो ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ भने आज राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार (११ फागुन)देखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने जानकारी दिँदै महाशाखाले भारी वर्षा र हिमपात हुने सम्भावना नरहेको तर वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने चोतावनी दिएको छ ।

यसैबीच काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । बिशीबार अपरान्ह भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौमा अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्यमात्र अवरोध रहेको छ । प्रवक्ता झाले भनेका छन्, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।’

photo: rss