त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त


‘पहिलो प्राथमिकतामा शैक्षिक क्यालेण्डर कार्यान्वयन’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त गरिएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनैजना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्रीले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

बराललाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारी समेत लिएका बताइएको छ । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

‘पहिलो प्राथमिकतामा शैक्षिक क्यालेण्डर कार्यान्वयन’

यसैक्रममा विश्वविद्यालयका नवनियुक्त उपकुलपति बरालले पदबहाली गरेका छन् । बिहबिार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदबहालीपछि उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताएका छन् ।

‘त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो, यहाँ धेरै काम गर्नुपर्नेछ’ भन्दै उनले शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने बताएका छन् । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उनको भनाइ थियो ।