बालिकालाई यौनवृत्तिमा लगाउने महिला नियन्त्रणमा

बालिकालाई यौनवृत्तिमा लगाउने महिला नियन्त्रणमा


दुई बालिकाको उद्धार

  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीमा गाउँबाट गरिव बालिकाहरू संकलन गर्दै ल्याएर यौनवृत्तिमा लगाउने काम दिनदिनै बढ्दो छ । विगतमा बालिकालाई आर्थिक प्रलोभन दिएर यौनवृत्तिमा लगाउने गरिएपनि ती घटना बाहिर आउँदैनथे । तर, प्रहरीको मानव बेचबिखन ब्युरो स्थापनापछि भने यस्ता विकृति सञ्चालन गर्ने महिला/पुरुषहरू धमाधम पक्राउ परिरहेका छन् । गत बुधबार पनि काठमाडौंको जडिबुटीमा राम्रो तलव सुविधा दिने भन्दै ३ वर्षदेखि यौन कार्यमा लगाइएका दुई बालिकाको उद्धार भएको छ र, यस्तो कार्यमा लगाउने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको छथर जोरपाटी पालिका-१ र दोलखाको भिमेश्वर पालिका-१ की बासिन्दा हाल काठमाडौंको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । यी महिलाले जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गर्दै आएकी छन् । उनले गाउँबाट गरिव बालिकाहरू खोज्दै राम्रो जागिर र तलवको प्रलोभन देखाएर आफ्नो क्याफे र गेष्टहाउसमा ल्याउने गर्थिन् ।

बालिकाहरू ल्याएको २/४ दिनपछिबाट उनी युवा ग्राहक खोज्दै बालिकालाई जबर्जस्ती यौनकार्यमा लगाउँदै आएकी थिइन् । प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार तामाङले ग्राहकबाट ठूलो रकम लिएपनि बालिकाहरूलाई केहीमात्र दिएर यौनसँगै आर्थिक शोषण पनि गर्दै आएकी थिइन् ।

क्याफे र गेष्ट हाउसमा वेटरको रुपमा बालिकहरू भित्र्याएर अनैतिक धन्दा गर्ने महिलालाई थप कारवाही गर्न अदालतले म्याद दिइसकेको ब्युरोले जनाएको छ ।

यसअघि ब्युरोले भारतमा बसेर नेपाली युवतीहरूलाई यौनधन्दामा लगाउने र अनलाइनमार्फत ‘होम डेलिभरी’ दिने एक दम्पतिलाई पक्राउ गरिसकेको छ । यो तरिकाबाट वेस्यावृत्तिमा लगाउने गरेको नेपालमै सम्भवतः पहिलो हो ।

अनलाइनमार्फत विज्ञापन गर्दै आकर्षक तलब दिने प्रलोभनमा पारेर स्याङजाको पेलाकोट-९ (हालको गल्याङ नपा-७) स्थायी घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र बाँकेकोे कोहलपुर नपा-८ माइती भएकी भण्डारीकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी र रिया भन्ने टीकाकुमारी वलीले यस्तो धन्दा गर्दै आएका थिए ।

उनीहरूको टिमले भारतको दिल्लीमा रहेका होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ पनि राम्रो हुने लोभमा पारेर दिल्ली लाँदै बेस्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखेर यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीको मानव बेचबिखन ब्युरोको अनुसन्धानबाट खुलेको थियो ।