ट्रक पल्टिँदा च्यापिएका तीन बालबालिका मृत, एकको जिवितै उद्धार

ट्रक पल्टिँदा च्यापिएका तीन बालबालिका मृत, एकको जिवितै उद्धार


तीन वटा क्रेनको प्रयोगले ट्रक उठाएर शव झिकियो

  • सुरेन्द्र सुवेदी

मोरङको बुढीगंगा-४ मा रहेको प्रगतिटोलमा भारतीय ट्रक पल्टँदा च्यापिएका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका दुई जना छन् ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ निवासी ज्योति अधिकारीका चार/चार वर्षका छोरी इसिता अधिकारी र छोरा निशान्त अधिकारी तथा सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास छन् । ज्योति अधिकारीलाई पनि ट्रकले थिचेकोमा उनको जिवितै उद्धार गरिएको छ । सन्जु खवास सामान्य घाइते भएका छन् ।

उनीहरूको शव ६ घण्टापछि निकालिएको हो । पूर्व क्षेत्र प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ भने, ‘तीन वटा क्रेनले ट्रक उठाएर एक जनको जिवितै र तीन वटा शव निकालिएको छ ।

बिहान ७ बजे बालबालिकाहरू नउठ्दै ट्रक घरमाथि पल्टिएको थियो । भारतीय आरजे२९जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको हो । प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्वल उद्योगमा आएको थियो ।