क्यानडा, माल्दोवा र कतारको प्रलोभन : ४६ लाख रुपैयाँ ठगी

क्यानडा, माल्दोवा र कतारको प्रलोभन : ४६ लाख रुपैयाँ ठगी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पछिल्लो समय बुझेर या नबुझेर दलालमार्फत वैदेशिक रोजगारीमा जाने भन्दै युवाहरु ठगिनेक्रम बढेको छ । दैनिकजसो २/४ जना युवा बिचौलियामार्फत ठगिएको उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् ।

प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार सरकारले अनुमति दिएका संस्थाबाट श्रम स्वीकृति लिएरमात्र विदेश जानु पर्ने ज्ञान भएर वा नभएर दैनिकजसो युवाहरु ठगिँदै आएका छन् । उनी भन्छन्, ‘प्रहरीमा दैनिकजसो आउने उजुरीमा बैदेशिक रोजगारीका अधिक देखिन्छन् ।’

यसरी ठगिनेमा रविन्द्र मण्डल एक प्रतिनिधिपात्र मात्र हुन् । यस्ता कैयन पीडित बनेका छन् । मण्डललाई झापाको हल्दिबारी-१ स्थायी घर भएर हाल काठमाडौंको बुढानिलकण्ठ-४, कपन बस्ने ४० वर्षीय भुपेन्द्र भट्टराईले ठगी गरेका हुन् । भट्टराईले मण्डललाई क्यानडा पठाउने र त्यहाँ मासिक ४ लाख ५० हजार रुपैयाँ तलव हुने भन्दै २० लाख रुपैयाँ ठगी गर्न सफल भए । भट्टराई रकम लिएपछि फरार थिए । उनलाई प्रहरीले राजधानीको सुकेधाराबाट पक्राउ गरिसकेको छ ।

मण्डलजस्तै रोजगारीका लागि माल्दोवा जान रकम बुझाउने गणेश थापासमेत चार जना ठगिएका छन् । ओखलढुंगाको खिजिदेम्बा-७ का ६७ वर्षीय दलबहादुर बस्नेतले २४ लाख रुपैयाँ ठगी गरे । चार जनाबाट पटकपटक गरेर उनले रकम ठगी गरेका हुन् । प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र मासिक तलव २ लाख २० हजार रुपैयाँको प्रलोभन देखाएर बस्नेत ठगी गर्न सफल भएका थिए । उनी पनि प्रहरी खोरमा पुगिसकेका छन् । बस्नेतले गोरखा जिल्ला प्रशासन कार्यालयबाट रुद्रबहादुर ढकालको नाममा समेत नागरिकता लिएको पाइएको र त्यो नामबाट पनि ठगी भएको हुनसक्ने भन्दै प्रहरी थप अनुसन्धानमा लागेको कार्यालयका प्रवक्ता एसपी रेग्मीले घटना र विचारलाई बताए

यस्तै ठगीमा संलग्न सिराहाको बरियारपट्टि-४ घर भएर हाल काठमाडौंको टोखा बस्दै आएका ३२ वर्षीय मोहम्मद गुलाब पनि पक्राउ परिसकेका छन् । उनले कतार पठाउने भन्दै राजु परियारलाई २ लाख रुपैयाँ ठगी गरेका छन् । कतार जान २ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै उनले सो रकम ठगी गरेका हुन् । गुलाव काठमाडौं-९, सिनामंगलमा दुई दिनअघि पक्राउ परेका छन् ।