चौध किलो सुन तस्करी प्रकरणपछि फरार रहेका कलेजसञ्चालक गुरुङ पक्राउ

चौध किलो सुन तस्करी प्रकरणपछि फरार रहेका कलेजसञ्चालक गुरुङ पक्राउ


‘गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकारको जिम्मेवारीमा समेत रहेका व्यक्ति हुन्’

सुन तस्करी प्रकरणमा मुछिएका एक कलेजसञ्चालक पक्राउ परेका छन् । पर्वत फुलबारी-२ ठेगाना भइ काठमाडौंको डिल्लीबजार कालिकास्थानमा प्लाटिनम कलेज सञ्चालन गर्दै आएका जीवनकुमार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा उल्लिेखित कलेजका कार्यकारी अध्यक्ष रहेका गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए, उनी आज पक्राउ परेका छन्’- एस्पी बोगटीले भनेका छन् । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

ज्ञातव्य छ, गत मंसिर २१ गते राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुनका विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा जीवनकुमार गुरुङले तस्करहरुसँग नियमित संवाद गर्ने गरेको पत्ता लगाएको थियो । गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकारको जिम्मेवारीमा समेत रहेका व्यक्ति हुन् ।