राप्रपाको ४०बुँदे ज्ञापनपत्रको अन्तर्य

राप्रपाको ४०बुँदे ज्ञापनपत्रको अन्तर्य


आफूलाई राजावादी ठान्नेले यो कुरा हेक्का राखेर आफूलाई परिष्कार गर्नु जरुरी छ । अन्यथा यस्ता ४०बुँदे त के ८०बुँदे ज्ञापनपत्र बुझाए पनि त्यसले माखो मार्ने छैन ।

✍ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

रा.प्र.पा.का अध्यक्ष राजेन्द्र लिङ्देङले हालैमात्र सरकारलाई ४० सूत्रीय माग प्रस्तुत गरेका छन् । त्यसमा अप्रत्यक्ष रूपमा संवैधानिक राजतन्त्र स्थापना पनि एक हो । एकातिर मेडिकल व्यवसायी दुर्गा प्रसाइँद्वारा सञ्चालित राजतन्त्रको पुनर्स्थापना आन्दोलन चलिरहेको छ भने अर्कोतिर रा.प्र.पा.ले पनि घुमाइफिराइ राजासहितको मेलमिलापको माग गरेको छ । वि.सं. २०३३ पुस १६ गतेका दिन जननायक विश्वेश्वरप्रसाद कोइरालाले यसैगरी राष्ट्रिय मेलमिलापको नीति अघिसार्नुभएको थियो । त्यतिमात्र होइन कोइरालाले राजासित सङ्घर्ष र पञ्चायतसित आत्मसमर्पण हुन सक्दैन भन्ने नीति अवलम्बन गर्नुभएको थियो । यसैलाई आधार मानेर आजकाल राजावादीहरूले राजा ज्ञानेन्द्र र बीपीको तस्बिरसँगै राखेर प्रचारप्रसार गरेको पाइन्छ । वास्तवमा यो एक ‘अराजक’ कार्य हो ।

राजा ज्ञानेन्द्र र बीपीमा आकाश जमिनको फरक छ, बीपी, पुष्पलाल, मदन भण्डारी, गणेशमान वा किशुनजी भनेका वास्तविक प्रजातान्त्रिक चरित्रका हुन्, तर राजा भनेको परिस्थितिअनुसार मात्र प्रजातान्त्रिक हुन्छन् । अरू बेला राजतन्त्र भन्नाले निरङ्कुशै हुन्छ र, भएको इतिहास पनि छ । बेलायत वा जापानमा पनि परिस्थितिले त्यहाँका राजाहरू प्रजातान्त्रिक भएका हुन् । नेपालकै कुरा गर्ने हो भने त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रमा एकै वैचारिक धरातल भेटिंदैन । वास्तवमा राजा त्रिभुवनले गणतन्त्र घोषणा गर्न लाग्दा बीपीले नै रोक्नुभएको थियो । यसर्थ बीपी हृदयले नै संवैधानिक राजतन्त्रको पक्षपाती हुनुहुन्थ्यो भन्ने अर्थ लाग्छ ।

बीपीले त त्यति मात्र होइन, रत्नराज्यसित विवाह नहुने स्थिति भएपछि महेन्द्रले युवराजाबाटै राजिनामा दिँदा पनि बीपी आफैंले पहल गरी विवाह गराएर युवराजा पद थमाएको कुराले राजाप्रति बीपीको के-कस्तो धारणा थियो भन्ने छर्लङ्ग हुन्छ । यस्ता बीपीलाई ‘अराष्ट्रिय तत्व’ भनेर जेल हालिएको र मण्डले लगाएर मोसो दल्ने काम पूर्व पञ्च र दरबारको एउटा अदृश्य शक्तिले गरिरह्यो । तर पनि बीपीले राजाप्रति कुनै पूर्वाग्रह राख्नुभएन ।

राजा नहुँदा नेपालको राजनीति गतिशील हुनसक्दैन भन्ने बीपीको ठम्याइलाई पञ्चहरूले कहिल्यै सकारात्मक रूपमा हेरेनन्, कालान्तरमा तिनै पूर्वपञ्चहरूको पार्टी राप्रपाले आज आएर यस कुरालाई मनन गरेको छ । तर समय घर्किसकेपछि कतिपय कुराहरू बेअर्थ सावित हुन पनि सक्छन् ।

मैले एकपल्ट किशुनजीसित सोधेको थिएँ- राजतन्त्रको विषयमा किशुनजीको स्पष्ट धारणा किन बुझ्न सकिँदैन ? जवाफमा उहाँले भन्नुभयो- राजालाई संविधानभित्र बाँधेर राखेपछि दाँत फुक्लिएको बाघजस्तै हुन्छ, जससित कसैले डराउनुपर्ने स्थिति रहँदैन । त्यसो भएर पनि बीपी र किशुनजी पार्टी सभापति छउञ्जेल नेपाली काङ्ग्रेसले आफ्नो विधानमा संवैधानिक राजतन्त्र, संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक समाजवाद यथावत राख्यो । सायद राजा ज्ञानेन्द्रका पालामा गिरिजाप्रसाद कोइरालामाथि अभद्र व्यवहार नगरिएको भए नेपालमा आज पनि संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था अथवा सेरमोनिएल किङ भए पनि रहन्थ्यो कि !?

त्यो बेला गिरिजाले सेरमोनिएल किङ र बेबी किङको जालो नफ्याँकेका होइनन्, तर राजा ज्ञानेन्द्रका मतियारले त्यो पनि स्वीकार गरेनन् । व्यक्तिगत रूपमा राजा ज्ञानेन्द्र त्यति निरङ्कुश देखिएनन् र छैनन् पनि, तर उनी आउनासाथ उनका वरिपरि रहेका अदृश्य शक्तिको चुरिफुरी यति बढ्छ कि मुलुक गणतन्त्रमा जान बाध्य हुन्छ । त्यस्ता सहयोगी (?)लाई पाखा नलगाउने हो भने ज्ञानेन्द्र शाह पुनः राजा हुने वा भएर पनि टिक्ने कुनै गुञ्जाइस देखिँदैन ।

पहिले आफू शुद्ध नभइ अरूलाई शुद्ध पार्न सकिँदैन भन्ने सबैले बुझ्नु जरुरी छ । राप्रपाभित्र केही राम्रा छवि भएका मानिसहरू भए पनि अधिकांश नेताहरू पञ्चायतकालमै दङ्दङ्ती गनाएर फालिएकाहरू पनि छन् । होला राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी जस्ता नेतामा त्यस्तो दाग नभए पनि अन्यको इतिहास अर्कै प्रकारको छ । हो, राजसंस्था पुनःस्थापनाको आन्दोलन/अभियानमा केशरबहादुर विष्टजस्ता निष्कलङ्क व्यक्तित्व पनि हुनुहुन्छ, तर उहाँलाई राप्रपाले नेतृत्व दिन सक्दैन । यसर्थ, राप्रपाले राजा फर्काउन सक्छ भन्ने कुरामा सन्देह पैदा गराउँछ । दुर्गा प्रसाइँ आफैं अनेक आरोपका भागीदार छन्, उनको मेडिकल कलेजले सम्बन्धन पाएको खण्डमा उनको आन्दोलन स्वतः निष्क्रिय हुनेछ । यो पाटो पनि विचारणीय छ ।

जसरी बीपीले ल्याउनुभएको राष्ट्रिय मेलमिलाप पञ्चायत रहुञ्जेल लागू हुन सकेन, त्यो लागू नभएकैले पञ्चायत गयो पनि । ठीक अहिले राजेन्द्रजीद्वारा प्रस्तावित राष्ट्रिय मेलमिलापको नीति गणतन्त्र रहिञ्जेल सम्भव देखिँदैन ।

राजतन्त्र पुनर्स्थापना हुन मुख्य तीनवटा बाटा छन्- १. संविधानमा राजतन्त्रले कतै न कतै टेक्ने ठाउँ हुनुपऱ्यो, २. राजा हुने व्यक्ति अत्यन्तै लोकप्रिय हुनुपऱ्यो र, ३. राजा हुने मनसाय भएका व्यक्तिले सैनिक सङ्गठन गर्न सक्नुपऱ्यो । चौथो विकल्प भनेको देशको जर्जर परिस्थितिले ल्याउने हो । अनि पाँचौं भनेको भारत वा अमेरिकाले राजतन्त्र पुनर्स्थापना गरिदिने हो । यो बाहेक राजतन्त्र फर्किने सम्भावना देखिँदैन ।

जसरी बीपीले ल्याउनुभएको राष्ट्रिय मेलमिलाप पञ्चायत रहुञ्जेल लागू हुन सकेन, त्यो लागू नभएकैले पञ्चायत गयो पनि । ठीक अहिले राजेन्द्रजीद्वारा प्रस्तावित राष्ट्रिय मेलमिलापको नीति गणतन्त्र रहिञ्जेल सम्भव देखिँदैन । अर्को विकल्प भनेको दुई तिहाई बहुमतद्वारा संविधान संशोधन गरेर पनि राजतन्त्र पुनर्स्थापना गर्न सकिन्छ, तर त्यो राप्रापाले गर्नसक्छ भन्ने ठाउँ छैन । तसर्थ राजेन्द्रजीको मेलमिलाप नीति लागू हुने निश्चित देखिँदैन । एउटा कुरा केचाहिँ सत्य हो भने नेपाली काङ्ग्रेस र एमाले दुवै पार्टी सहमत हुनसके भने त्यो मेलमिलापको सम्भावना सजिलैसित पूरा हुन्छ । उनीहरूले २०४७ को संविधानमै संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था राखेका थिए । तर नेपाली काङ्ग्रेसमा बीपी, किशुनजी र एमालेमा मदन भण्डारी, मनमोहन अधिकारीजस्ता लचिला नेताहरू आज छैनन् । त्यसैले यी दुई दललाई हात लिन सके अथवा राजावादीहरूले प्रजातन्त्रको ग्यारेण्टी दिन सके भने पनि त्यो मेलमिलाप नीतिले सार्थकता पाउँछ, अन्यथा ४० बुँदे केवल ज्ञापनपत्रमा मात्र सीमित रहनेछ । तैपनि राजनीतिमा असम्भव कुरा भन्ने नै हुँदैन भन्ने हो भने भगवान् भरोसा मात्र हो ।

मैले राप्रपाको ४०बुँदे ज्ञापनपत्रबारे किन चर्चा गरेँ भने यस्तो राष्ट्रिय मेलमिलापको नीति त पहिल्यै बीपीले ल्याइसक्नुभएको हो, तर राजावादी भनिनेहरूले कहिल्यै राष्ट्रिय एकताको आवश्यकता महसूस गरेनन् । पञ्चहरूमा यति दम्भ रह्यो कि बरु सूर्य चन्द्र झर्लान् तर पञ्चायत कहिल्यै जाँदैन भनेजस्तो व्यवहार गरे । यही घमण्डले पञ्चमाथि आम नेपालीको नकारात्मक भावना प्रबल बनिरह्यो जो आजसम्म पनि छँदैछ । तसर्थ मैले यहाँ जोड दिन खोजेको कुरा राप्रपा आफैंले हामी प्रजातान्त्रिक हौं भनेर जनतामा विश्वास पैदा गराउन सक्नुपर्दछ । हो, निश्चय नै राप्रपा माओवादीभन्दा बढी प्रजातान्त्रिक छ, ऊभन्दा लोकतन्त्रवादी पनि छ, तर आम रूपमा राप्रपा लोकतान्त्रिक पार्टीचाहिँ होइन नै !

अबको विश्वमा राजा आउन वा राजतन्त्र टिकाउन प्रजातन्त्रको संस्थागत विकास हुनैपर्छ । बीपी स्वयंले भन्नुभएको छ, प्रजातन्त्र नरहे राजतन्त्र रहँदैन, राजतन्त्र नरहे नेपाल रहँदैन । नभन्दै राजा ज्ञानेन्द्रले प्रजातन्त्र खाइदिँदा राजतन्त्र रहेन र राजतन्त्र नरहँदा आज नेपालको कुन दुर्गति भयो ? यो त सबै नेपालीले भोगिआएको कुरा हो । त्यसैले ४०बुँदे ज्ञापनपत्र दिएर मात्र केही हुँदैन, कि त माओवादीले जस्तो ज्यान जोखिममा राखेर लड्नसक्नु पऱ्यो । त्यो अहिलेको राप्रपाले गर्ने देखिँदैन । त्यसमा पनि राजेन्द्रजी आफैंले पनि उपप्रधानमन्त्री पाउनेवित्तिकै बुर्लुक्क उफ्रेर गणतान्त्रिक संविधानको शपथ खाइसक्नु भएको छ । मलाई लाग्छ- राप्रपाका अधिकांश नेताहरूले मन्त्री मात्र पाए भने गइहाल्छन् । अहिले त माओवादीले सबैलाई यसरी घुमाइदिएको छ कि संघीयताका विरोधी चित्रबहादुर केसी तथा राजतन्त्रात्मक नयाँ जनवादका प्रयोक्ता सीपी मैनालीलाई पनि यही गणतान्त्रिक संविधानको शपथ ख्वाइसकेको छ । अब बाँकी भनेका रोहित मात्र हुन् भनेमा फरक नपर्ला । अहिलेको काङ्ग्रेस र एमालेलाई माओवादीले आफ्नो वशमा पारिसकेको छ । यसरी हेर्दा वर्तमान अवस्थामा नेपालमा गणतन्त्रको विकल्प तयार भैसकेको देखिँदैन ।

जसरी पञ्चायतले लामो समयसम्म आफूलाई निर्विकल्प घोषणा गरिरह्यो, अहिलेको गणतन्त्रको त्यही हालत छ । आम नेपालीहरू गणतन्त्रको पक्षमा छैनन् भन्ने कुरा माओवादीको भोटले देखाउँछ, तर पनि गणतन्त्रको विकल्प बनेको भेटिँदैन । न त मानिसहरू राजा ल्याउन मैदानमा नै उत्रिएका छन्, बरु पलायन भएर धमाधम विदेशतिर लागिरहेका छन् । जब राजनीतिमा शुद्धता हुँदैन, तब बेइमान र छलकपटको बाहुल्यता हुन्छ, अनि मानिस निरास भएर किनारा लाग्छन्, आजको नेपालको यो स्थिति छ । नेपालीहरू विदेशिने क्रम हिजोभन्दा आज बढी हुँदै गएको छ । यो राजनीतिमा रहेको अशुद्धिले भएको हो भन्नेमा दुईमत छैन । यस्तो विकृति चिर्ने कुनै दल भए त्यस्तो दलले विकल्प दिनसक्थ्यो । तर अहँ त्यो छँदैछैन । राजतन्त्र जान जति सजिलो हुन्छ, आउन त्योभन्दा हजारौँ गुना अप्ठ्यारो हुन्छ ।

वास्तवमा राजा हुन चाहिने योग्यता भनेको सबैको हुनसक्नु हो । जब एउटा पक्षको मात्र हुन्छ, तब राजा र गूटमा भिन्नता हुँदैन । आफूलाई राजावादी ठान्नेले यो कुरा हेक्का राखेर आफूलाई परिष्कार गर्नु जरुरी छ । अन्यथा यस्ता ४०बुँदे त के ८०बुँदे ज्ञापनपत्र बुझाए पनि त्यसले माखो मार्ने छैन । तसर्थ राजा हुन चाहने र आफूलाई राजावादी ठान्नेले पनि यो कुरालाई मनन गरुन् भन्ने अभिप्रायले यति लेखें, भूलचुक भए क्षमाप्रार्थी छु ।

  • महाकवि देवकोटा आश्रम, हाल : बेघर