परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेट

परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेट


भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले मंगलबार अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा. सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

तस्बिर : रासस