कार्यविभाजनप्रति माओवादीका उपमहासचिव शर्मा असहमत

कार्यविभाजनप्रति माओवादीका उपमहासचिव शर्मा असहमत


आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको आरोप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन् ।

‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’लाई लिएर कार्यविभाजन गरियो’, बैठकपछि उपमहासचिव शर्माले भनेका छन्, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।’

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनको भनाइ छ । आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष प्रचण्डले सहजरुपमा लिएको पनि उनले बताएका छन् ।

‘पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो, मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु’, जनार्दनले भनेका छन् ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी उपमहासचिव शर्माले दिएका छन् ।

photo: rss