नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न एउटै दस्तावेज छलफलमा लैजाने सर्वसम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ ।
यही फागुन १५ गतेदेखि आजसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्तावेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ । मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ । उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिकासमावेश गरिने छ । दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो ।
प्रतिक्रिया