प्रधानमन्त्रीले सांसदहरुका जिज्ञासाको जवाफ सोमबार दिने

प्रधानमन्त्रीले सांसदहरुका जिज्ञासाको जवाफ सोमबार दिने


संसदमा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाउनुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार हुने बैठकमा दिने भएका छन् ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रबार एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा ‘आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा उहाँ कामविशेषले काठमाडौं उपत्यकाबाहिर रहनुभएको हुँदा यही फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न’ अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।