कांग्रेस नेता केसीको सुझाव- ‘कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने धारणा अघिसारेका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने- ‘जनताको चाहना राज्यका हरेक क्षेत्रमा हुने आर्थिक अनियमितता अन्त्य हुनुपर्ने रहेकाले कांग्रेसले जनताको भावनालाई बुझेर नेतृत्व गर्दै देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक छ ।’
नेपाली जनतामा रहेको भ्रमलाई चिर्न पनि कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाइ थियो । देशमा भएका ठुल्ठूला भ्रष्टाचारका घटनाको पर्दाफास गर्न आवश्यक भएको उल्लेख गर्दै नेता केसीले राजनीतिक दलप्रति जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
‘पछिल्लो समय अदालतबाट न्याय सम्पादन सही रूपमा नभएको भन्ने गुनासा आएका छन्, यसप्रति सरकार सचेत हुन जरुरी छ, दोषीलाई उम्कने अवस्था अदालतबाट सृजना गर्न हुँदैन’- नेता केसीले भनेका छन् ।
देशमा आर्थिक मन्दीको चुनौतीसँगै बेरोजगारी खडा भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा नेता केसीले जोड दिए ।
यस्तै, कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको बताउँदै उनले राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले आफ्नो उम्मेदवारका रूपमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाएको उल्लेख गरे ।
प्रतिक्रिया