आफन्तबाटै वृद्धको हत्या, दम्पति पक्राउ

आफन्तबाटै वृद्धको हत्या, दम्पति पक्राउ


नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका-३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजीज्वाइँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका-२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् । दुवैजनालाई काठमाडौंबाट पक्राउ गरेर शुक्रबार नुवाकोट लगिएको हो । उनीहरूलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।

हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए । अनुसन्धानका क्रममा रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दम्पतीले घटनामा आफूहरूको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।