कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह


नेपाल-चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो ।

शनिबार बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री प्रचण्डसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउनुपर्ने बताए ।

उनले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोलालगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्णरूपमा सञ्चालनमा आउनेमा विश्वास व्यक्त गरे । ‘कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहजरूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष ढकालले भने ।

पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथिमकता राख्न उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे । विश्वका सनातन अनुयायीहरूको आस्थाको केन्द्र मुक्तिनाथ रहेको भन्दै अध्यक्ष ढकालले त्यस क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक एवं धार्मिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने तर्क अघि सारे ।

पञ्चकोटमा निर्माण थालनी भएको विश्वशान्ति कलशको पूर्णताका लागि सरकारको सहयोगको अपेक्षा लिइएको उनको भनाइ छ । सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले चीन जोड्ने कोरोला नाका सञ्चालन हुन सकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गरे ।

‘मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ प्रधानमन्त्रीज्यूमार्फत सरकारको ध्यान जाओस्’, उनले भने ।

कोरोला नाका जोड्ने सडक सुविधासम्पन्न हुनसकेमा समग्र मुक्तिक्षेत्रको विकासले गति लिने जिकिर गर्दै स्वामी कमलनयनाचार्यले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताए । व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा उनले राखे ।

प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । ‘कोरोला नाकालाई नियमित सञ्चालन गर्ने र त्यहाँको सडक निर्माणमा मेरो ध्यान गएको छ, आगामी सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय प्राथमिकताका साथ समेटिन्छ’, उनले भने ।

प्रधानमन्त्रीले मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै कोरोला नाका सञ्चालनमा आउँदा आर्थिक गतिविधिसँगै पर्यटन आवागमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा धारणा राख्दै संस्कारसहितको व्यावहारिक शिक्षामा जोड दिए ।

तस्बिर : रासस