देउवा र ओलीसँग प्रधानमन्त्रीको छलफल

देउवा र ओलीसँग प्रधानमन्त्रीको छलफल


प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज (मंसिर २०) छुट्टाछुट्टै छलफल गरेका छन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुऱ्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीले छलफल गरेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जनाएका छन् ।

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ ।

सत्ता गठबन्धनमा संकट मडारिएको भन्ने चर्चाले राजनीतिक बजारमा स्थान लिइरहेको परिवेशमा प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको बहानामा प्रमुख विपक्षी दलका शीर्ष नेताका साथै सत्ता साझेदार कांग्रेसका सभापतिसँग गरेको छलफललाई विशेष अर्थमा हेरिएको छ ।

file photo