७ महिनामा ५ लाख ३४ हजार गाडी कारवाहीमा

७ महिनामा ५ लाख ३४ हजार गाडी कारवाहीमा


ट्राफिकले संकलन गर्‍यो ३९ करोड राजश्व

  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीमा सवारी चालकको लापरवाही बढिरहेको छ । चालु आर्थिक वर्षको ७ महिनामा ५ लाख ३४ हजार ६ सय ४७ वटा सवारी साधन कारवाहीमा परेका छन् । यी सवारी साधनमाथि गरिएको कारवाहीमा ३८ करोड ८१ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा ८ लाख ९५ हजार सवारी साधन कारवाहीमा परेका थिए भने ती कारवाहीबाट ट्राफिक प्रहरीले ६३ करोड ५४ लाख १९ हजार रुपैयाँ राजश्व उठाएको थियो ।

राजधानीका काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक करिव १४ लाख सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठ घटना र विचारलाई बताउँछन् । गत साउनदेखि माघ मसान्तसम्म मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २१ हजार ३ सय ७५ जना चालक पक्राउ परेका छन् । गत आर्थिक वर्षमा मापसे गरेर ३९ हजार ५ सय ९६ जना चालकले सवारी साधन चलाएका थिए ।

चालकले दुर्घटनाको भय रहेर पनि तीब्रगतिमा सवारी चलाउन छोडेका छैनन् । यो आर्थिक वर्षका ७ महिनामा ७२ हजार ७ सय ७ चालकलाई कारवाही गरिएको ट्राफिक प्रवक्ता एसएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा यो संख्या ५८ हजार ७ सय २ थियो । यो वर्ष ट्राफिक प्रहरीले ‘अटोमेटिक नम्बर प्लेट रिकनेक्सन वीथ स्पीड सिस्टम डिटेक्स’ अर्थात तीव्रगति मापन यन्त्र ठाउँठाउँमा जडान गरेकोले तीब्रगतिमा सवारी चलाउने चालकहरु पक्राउ परिरहेका छन् । जसले गत वर्षका १२ महिना भन्दा यो वर्षको ७ महिनामै १४ हजाबढी चालक कारवाहीमा परेका हुन् ।

ट्राफिकले तोकिएभन्दा बढी भाडा लिने २ सय ३० सवारी साधनलाई कारावाही गरेको छ । गत वर्ष यो संख्या २ हजार ३ सय ३० थियो । फुटपाथमा सवारी पार्किङ गर्ने ७१ हजार २ सय ९९ चालक पनि कारवाहीको दायरामा आएको प्रवक्ता एसएसपी श्रेष्ठको भनाइ छ । गत आर्थिक वर्षमा यो संख्या १ लाख २८ हजार ६ सय ८३ थियो ।